प्रधानमन्त्रीको भारत भ्रमण अगावै पार्टी एकता गर्नुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं, १० चैत – माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी एकताको प्रगतिबारे छलफल गर्न ललितपुरको खुमलटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन गठन गरिएका दुई कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेको थियो । तर, माओवादी केन्द्रले त्यहाँसम्म समय नलगाई प्रधानमन्त्रीको भारत भ्रमण अगावै एकता गर्नेगरी काम अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओली आगामी चैत २३ गते तीनदिने भ्रमणका लागि भारत जाँदै हुनुहन्छ । बैठकमा माओवादी केन्द्रबाट कार्यदलमा सहभागी सदस्यले सांगठनिक र सैद्धान्तिक विषय मिलाउने काम ७५ प्रतिशत सकिएको जानकारी दिँदै सहमति जुटेका विषयको अन्तिम ड्राफ्ट तयारी अवस्थामा रहेको बताएका थिए ।

उनीहरुले कार्यदलको काम सही ढंगले अगाडि बढेको बताउँदै नेतृत्व तहका विवादित विषयमा सहमति खोज्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता चाँडोभन्दा चाँडो गर्दा राष्ट्र र समग्र पार्टीको हितमा रहेको निष्कर्षसहित युद्धस्तरमा आन्तरिक तयारी सम्पन्न गरिने बताएका थिए । बैठकले पार्टी एकताको अन्तिम तयारी गर्न चैत १५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here