काठमाडौं, ९ बैशाख– प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्तापक्ष र मधेसवादी दलहरुबीच आज निर्णायक वार्ता हुँदैछ ।
संविधान संशोधन र स्थानीय चुनावबारे वार्ता सहमति नजिक पुगेकाले आज दिउँसो २ बजे पुनः सरकार र मधेसवादी दलहरुबीचको वार्ता हुन लागेको हो । त्यसका लागि सरकारले मधेसवादी दलहरुलाई दिउँसो २ बजे छलफलमा बोलाएको छ ।
सत्ताघटक नेताहरुका अनुसार हिजो दुई चरणका वार्तापछि उनीहरु संविधान संशोधन र स्थानीय चुनावबारे सहमति नजीक पुगेका हुन् । सत्तापक्षले पनि मधेसी मोर्चासँग हिजो दिनभर गरेका वार्ताले सहमति नजिक पुगेको दाबी गरेको छ।
हिजोे दिनभर शृंखलाबद्ध रुपमा भएका बार्तामा सरकारले पछिल्लोपटक संसदमा दर्ता गराएको एघार बूँदे संशोधन प्रस्ताव परिमार्जन सहित ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रतिबद्धता सहित आज सहमतिको प्रस्ताव तयार पार्ने प्रतिबद्धता जनाएपछि आज निर्णायक वार्ता हुने प्रबल सम्भावना रहेको छ ।
आज कुनै अवरोध खडा नभएमा सरकार र मोर्चाबीचको समझदारीले औपचारिकता पाउने छ । मोर्चाले मधेसमा स्थानीय तहको इकाई थप गर्ने र छुट मतदाता नामावली थप्ने बिषयमा भने समझदारी जुट्न बाँकी रहेको सत्तापक्षका एक नेताले बतानुभयो ।
यसैबिचः राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले वार्ता सकारात्मक भएकाले हिजोकै प्रस्ताव अनुसार सहमति पत्र तयार भए आजको वार्ता निर्णायक बन्ने बताउनुभएको छ।

