धनगढी, ३० जेठ-प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५÷७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताउनुभएको छ ।
बुधबार रासससँग बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उहाँले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उहाँले भन्नुभयो, “सोहीअनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ ।”
कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले आफ्नो समुदाय सूचीकृत हुनुपर्ने माग राख्दै आएको बताउँदै उहाँले उक्त समुदायलाई पर्यटनसँग जोड्नसमेत गृहकार्य गरिने वचनबद्धता प्रकट गर्नुभयो ।
आगामी असार १ गते प्रस्तुत हुने प्रदेश सरकारको बजेटमा छुवाछूत, छाउपडी, बोक्सी, लैंगिक हिंसा जस्ता कुरीति तथा कानूनले वञ्चित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालालाई प्रोत्साहित गरिने उहाँको भनाइ थियो ।
प्रदेश ७ मा बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालन गर्न आवश्यक पहल गर्ने, पश्चिम गड्डाचौकीदेखि कैलालीको चिसापनीसम्मको सडकलाई छ लेनको बनाउन डिपिआर तयार पारिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
उहाँका अनुसार विपन्न समुदायका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाको सुदृढीकरण एवं ‘एक गाउँ एक स्वास्थ्य चौकी’, ‘एक स्थानीय तह एक अस्पताल’का लागि नीतिगत संरचनाको प्रबन्ध गर्न बजेटमार्फत शुरु गरिनेछ ।
प्रदेश नं ७ को नीति तथा कार्यक्रमको परिधिभित्र रही आगामी आवका लागि उपलब्ध सीमित स्रोत र साधनलाई अधिकतम प्रतिफल हासिल हुने गरी बजेटमा बाँडफाँड गर्ने प्रदेश सरकारले जनाएको छ ।

