काठमाडौं,२६ असारः प्रदेश ३ को स्थायी राजधानीका लागि ५ जिल्ला सिफारिस भएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्गाणुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो ।
प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको हो । सभापति दिपक निरौलाले समितिलाई औचित्यका आधारमा सम्भाव्यता .तोक्ने क्षेत्राधिकार तोकिएकोले प्राथमिकता क्रम नतोकि वर्गाणुक्रम अनुसार सिफारिस गरेको बताउनुभयो ।
प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवश्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवश्था विश्लेषण गरेर जिल्लाको स्थिती स्पष्ट उल्लेख गरिएको छ । समिति स्रोतका अनुसार, उक्त विश्लेषण अनुसार, क्रमश : काभ्रे, चितवन, भक्तपुर, मकवानपुर र नुवाकोट उपयुक्त देखिएको छ ।
प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले सम्भाव्यता अध्ययन मात्रै गर्न भनिएकाले प्राथमिकता क्रम नतोकिए पनि स्पष्ट रुपमा उल्लेख गरिएको बताउनुभयो । यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो ।
काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगत स्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्न सहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो ।

