प्रदेश २ निर्वाचनमा ७० हजार सुरक्षाकर्मी

web

काठमाडौं, १ असोज– प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी  खटिएका हुन् ।

उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बारा,  पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ ।

तीमध्ये अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । प्रत्येक मतदान स्थलमा प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा मतदान सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसको बाहिर घेरामा प्रहरी निरीक्षकको छुुट्टै टोली खटिएको छ । त्यसबाहिर सशस्त्र प्रहरी र सेनाको गस्ती रहेको छ ।

प्रदेश नम्बर २ अन्तर्गतका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । सीमा क्षेत्रमा समयसमयमा हुने आपराधिक गतिविधिका कारण पनि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचन मिति घोषणा भएदेखि नै गृह मन्त्रालयले विशेष कार्ययोजना बनाएर प्रदेश २ लाई आवश्यक सुरक्षा प्रबन्ध गर्दै आाएको थियो ।उता गृह मन्त्रालयले निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाउँदै मतदातालाई ढुक्क भएर मतदानमा भाग लिन अनुरोध गरेको छ ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रित सुरक्षा नीतिअनुसार नै जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको पनि जनाएको छ । जसअनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइएको छ ।

प्रदेश २ मा रहेका आठवटै जिल्ला भारतीय सीमावर्ती क्षेत्रमा पर्ने भएकाले मतदानका बेला कुनै पनि अप्रिय घटना र अपराधजन्य क्रियाकलाप नहोस् भनेर मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सबै नाकाहरू सिल गरिसकिएको छ । मन्त्रालयका अनुसार भारतीय काउन्टर पार्टले पनि मद्दत गरिरहेकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुद भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमा क्षेत्रमा एक महिनाअघि देखि नै विशेष निगरानी बढाइएको छ । ‘सीमा क्षेत्रमा अहिलेसम्म सामान्य देखिएको छ, निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएकाले अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी प्रयत्नशील छन्,’ मन्त्रालयका प्रवक्ता सुवदीले भने । उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको छ ।

‘अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिमप्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिम प्राप्त कुुकुर परिचालन गरिएको छ,’ सुवेदीले भने । नेपाली सेनाका प्रवक्ता सहायक रथि झंकर कडायतका अनुसार नेपाली सेनाले चुनाव अवधिभर पैदल गस्ती गर्नेछ । तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गरिरहेको सेनाले प्रदेश २ का लागि धनुषाको भीमानमा नवस्थापित मध्यपूर्वी पृतनाअन्तर्गत १५ हजार जनशक्ति परिचालन गर्नेछ । ‘आवश्यकता अनुसार सबै प्रकारका पेट्रोलिङ तथा पैदल गस्ती भइरहेका छन्, मद्दती सुरक्षा फौज पनि तैनाथ छ,’ प्रवक्ता कडायतले भने । उनका अनुसार भीमानस्थित पृतनामा आपतकालीन उद्धार तथा सुरक्षा फौज परिचालनका लागि एउटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ भने अर्को हेलिकोप्टरलाई बाराको जितपुरस्थित नयाँ स्थापित बाहिनीमा तयारी अवस्थामा राखिएको छ ।

स्थानीय निर्वाचनमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षा व्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था कडा बनाएको नेपाल प्रहरीले जनाएको छ । मतदाता तथा उम्मेदवारहरूको सुरक्षाका लागि मतदान स्थलमा मात्र नभई गाउँबस्ती, सार्वजनिक स्थल, सवारीसाधनका नियमित सुरक्षा जाँच र गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले बताए  । आजको राजधानीमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here