प्रदेश नम्बर ३ मा प्रदेशसभाको बैठक बस्दै

काठमाडौं,२५ चैत–  प्रदेश नम्बर ३ मा प्रदेशसभाको बैठक आज बस्दैछ । सवा १२ बजे बस्ने बैठकमा प्रदेश प्रमुख अनुराधा कोइराला उपस्थित हुनुहुनेछ ।

प्रदेश प्रमुख कोइरालाले यसअघि प्रदेशसभा बैठकले पारित गरेको ‘प्रदेश सरकारको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक’ र ‘प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ प्रमाणिकरण भएको पत्र वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ/नगर तथा जिल्ला सभा सञ्चालन कार्यविधी सम्बन्धी विद्येयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विद्येयक र स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयकसम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रस्तुत गर्ने कार्यसूची छ ।  यस्तै, प्रदेश ५ को प्रदेश सभा बैठकमा आज चालु आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत हुँदै छ । प्रदेश प्रमुख उमाकान्त झाले नीति कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रदेश ५ ले  कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाएको छ ।

संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि चैत २९ गते बजेट प्रस्तुत हुनेछ । चालु आर्थिक वर्षका लागि संघले प्रदेशलाई १ अर्ब २ करोड ५ लाखको बजेट पठाएको थियो ।

त्यसको करिब ५० प्रतिशत रकम मन्त्रीहरुको सुबिधा र व्यवस्थापनमा खर्च हुनेछ । बाकी करिब ५० प्रतिशत बजेट विकासात्मक काममा खर्च हुने आंकलन गरिएको प्रदेश आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here