प्रदेश नम्बर २ को निर्वाचन तयारी यस्तो, मतगणनाकोलागि ६ देखि ११ समूह

काठमाडौं, ३१ भदौं– सोमबार हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्थामा कहीकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताउनुभयो ।
प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।
प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने बताउनुभयो ।

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ ।
जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ ।
सोहि निर्वाचनलाई मध्यनजर गर्दै गएरातिदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको बताईएको छ ।
यसैबिच, निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यस्तै, नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
यता, निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्बाचनको परिणाम पाँच दिनभित्रै घोषणा गर्ने तयारी गरेको छ ।

पहिलो र दोस्रो चरणको चुनावमा ढिलो मतपरिणाम आएको भन्दै आलोचित भएको आयोगले तेस्रो चरणमा भने चुनावको नतिजा पाँच दिनभित्र घोषणा गर्नेगरी तयारी थालेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

उहाँका अनुसार ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा ठाउँ अनुसार मतगणनाको लागि ६ देखि ११ वटा समूह बनाइनेछ ।
एउटा समूहमा ६ देखि ७ जनासम्म हुने र उनीहरुले ८ घण्टा मत गन्नेछन् । तीन सत्रमा कर्मचारी खटाएर चौबिसै घण्टा मत गनिने भएकाले छ्टिटै परिणाम सार्वजनिक हुने उहाँको अनुमान छ ।

एउटा महानगरपालिका, ३ वटा उपहानगरपालिका र ७३ नगरपालिका रहेको प्रदेश नम्बर २ मा १ सय ३६ प्रमुख र उपप्रमुख, १ हजार २ सय ७१ वडाध्यक्ष, महिला, दलित सदस्य गरी ६ हजार ६ सय भन्दा बढी जनप्रतिनिधि निर्वाचत हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here