प्रदेश नं.५ मा कम उमेरमै आमा बन्ने किशोरीहरुको संख्या बढ्दो

काठमाडौं,२८ बैशाख ।  प्रदेश ५ का विभिन्न जिल्लामा अहिले बालबिवाह र कम उमेरमै आमा बन्ने किशोरीहरुको संख्या बढ्दो छ । प्रदेशका विभिन्न जिल्लाका १३ प्रतिशत किशोरीले १३ देखि १९ वर्षभित्रै बच्चा जन्माउने गरेको पाइएको छ ।

कम उमेरमै सन्तान जन्माउने कारण उनीहरुमा जोखिम बढेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सर्वेक्षण गरेको थियो । स्वास्थ्य सर्वेक्षणका क्रममा १३ प्रतिशत किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेको तथ्य फेला परेको हो । सर्वेक्षण अनुसार गत वर्ष प्रदेशभर ५५ हजार महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए ।

त्यसमध्ये ८ हजार ३६ किशोरी उमेरका हुन् । सुत्केरी हुने मध्ये सबैभन्दा जोखिम पूर्ण अवस्था किशोरीमा देखिएको छ । सुत्केरी भएकामा झण्डै ७० प्रतिशत आमा रक्तअल्पताबाट ग्रसित थिए । कम तौलका, कम उचाईका शिशु जन्माउने पनि अधिकांश किशोरी थिए । किशोरी आमाका जोखिम पत्ता लगाएर समाधानका उपाय खोज्न स्वास्थ्य सर्वेक्षण गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।

यसअघि सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षण अनुसार यो प्रदेशमा ३९ प्रतिशत शिशुमा पुड्केपन देखिएको थियो । ख्याउटे ८ र आवश्यक तौल नपुगेका २७ प्रतिशत शिशु जन्मेका थिए । ४४ प्रतिशत आमामा रक्तअल्पताको समस्या रहेको भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here