प्रदेश नं ५ः १०० दिनमा ४७ उपलब्धि

बुटवल, १४ जेठ-प्रदेश नं ५ सरकारले सरकार गठन भएको १०० दिनमा ४७ बुँदे काम गरिएको जिकिर गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेश सरकारले १०० दिनभित्र प्रादेशिक जग निर्माणका लागि प्रदेशको स्थितिपत्र तयार पार्ने काम गरेको बताउनुभयो । प्रदेश सरकार विसं २०७४ फागुन ३ गते गठन भएको हो ।
प्रदेश सुरक्षा समिति गठन गरी कार्यारम्भ भएको तथा चार कानून प्रदेशसभाबाट पारित भइसकेको जनाइएको छ । प्रदेशसभाले प्रदेश नं ५ को प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश अन्तर्गत गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेश सरकारको आव २०७४÷०७५ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भई ऐन बनेका छन् ।

यस्तै प्रदेशसभामा अन्य चार विधेयकमध्ये तीन विधायन समितिमा दफावार छलफलका क्रममा रहेका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाइसकिएको, प्रदेश ५ का मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ऐन बनेका छन् ।

यस्तै सरकारले गठन आदेश तथा नियुक्तिसम्बन्धी प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४ स्वीकृत गरिएको र आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति गरिएको छ भने प्रदेश मुख्य न्यायाधिवक्ता र मुख्यमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरिएको, प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्थाको लागि प्रदेश सरकार मन्त्रिपरिषद्मा राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृतिका लागि प्रस्ताव पेश गरिएको, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्तसम्बन्धी विधेयक र प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here