पोखरा, २३ वैशाख-प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।
आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश विनियोजन विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रस्तावका पक्षमा सत्तापक्षका सदस्य रहनुभयो भने विपक्षमा प्रतिपक्षका सांसद रहनुभयो ।
यसअघि यही वैशाख २१ गतेको बैठकमा प्रतिपक्षी दलका तर्फबाट सरकारले रातो किताबमा गरिएको बजेट विनियोजनमा मनोमानी रुपमा रकम छुट्याइएको र यसले प्रदेशलाई उन्नतिको बाटोमा भन्दा पनि आर्थिक अनियमितताको बाटोमा लैजाने भन्दै बैठक अवरुद्ध गरिएको थियो ।
आजको बैठक अपराह्न १ बजेका लागि बोलाइए पनि प्रतिपक्षले रातो किताबमा विनियोजन भएका रकम र शीर्षक सम्बन्धमा विभिन्न नौबुँदे ध्यानाकर्षणपत्र सरकारलाई बुझाएकामा त्यसलाई सम्बोधन गर्नुपर्ने माग राखेका कारण केही समय बैठक शुरु हुन सकेको थिएन ।
सरकारका तर्फबाट प्रतिपक्षद्वारा उठाइएको विषय सम्बोधन गर्ने आश्वासन पाएसँगै शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले रातो किताबमा केही विनियोजित शीर्षकमा छुट्याइएका रकम सम्बन्धमा आफूहरूको असहमति रहेको धारणा राख्नुभयो ।
प्रदेशको हितका लागि आफूहरूले रातो किताबमा राखिएका केही शीर्षकमा असहमतिसहित विभिन्न नौबुँदासहित सरकारको ध्यानाकर्षण गराइएकामा सभामुखको रोहबरमा मुख्यमन्त्रीसँग छलफल गरिएको र यी विषय सम्बोधन गर्ने विश्वास व्यक्त भएको बताउनुभयो ।
प्रतिपक्षका तर्फबाट उठाइएको विषयमा धारणा राख्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले निश्चित कार्यविधिका आधारमा विनियोजित रकम खर्च हुने र खर्च नभएमा त्यो प्रदेशको सञ्चित कोषमा रहने हुँदा त्यसमा अनियमितता हुने कुरामा शङ्का नगर्न आग्रह गर्दै विभिन्न शीर्षकमा विनियोजित रकमबारे स्पष्ट पार्नुभएको थियो ।

