प्रदेश नं.२ मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न दलहरुमा सकस

काठमाडौं, १४ भदौं– प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्न ७ दिन बाँकी रहदा दलहरु उम्मेदवार छान्न व्यस्त भएका छन् । भदौं २१ गते मनोनयन दर्ताका लागि तीन ठुला दलदेखि मधेशवादी दलसम्म उम्मेदवारको टुङगो लगाउन व्यस्त भएका हुन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले साउन अन्त्यमै उम्मेदवारको टुंगो लगाएर प्रचार प्रसारका लागि आफ्ना उम्मेदवारलाई पर्याप्त समय दिने भन्दै आएपनि हालसम्म उम्मेदवारमा सहमति जुटाउन सकेको छैन ।

कांग्रेसले जिल्ला स्तरबाटै ७० प्रतिशत नाममा सहमति भएर आएको र विवादित रहेका बाँकी ३० प्रतिशत स्थानमा छलफल भइरेहको बताएको छ । आजबाट पुनः टिकटका विषयमा छलफल सुरु हुने र केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले भने प्रदेश २ का १ सय २४ तहका उम्मेदवार टुंगो लगाइसकेको छ । प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरीले बाँकी तह भोलिसम्म टुंगो लगाइसक्ने जानकारी दिनुभयो ।

१ महानगरपालिकासहित ३ उपमहानगरपालिकाका उम्मेदवार पार्टी स्थायी कमिटीले अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोटका विषयमा हिजो जनकपुरमा दुईपटक बैठक बसेको छ ।
अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्य तथा जिल्लाका नेताहरू कसलाई टिकट दिने भन्नेमा छलफल गर्न बैठक बसेका हुन् । सचिवालय सदस्य तथा प्रदेश दुईका संयोजक मातृका यादवले धेरैजसो स्थानीय तहका उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लगाइसकेको र केहीमा मात्र टुंगो लाग्न बाँकी रहेको बताउनुभयो ।
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले उम्मेदवारहरूको संख्या धेरै रहेकाले उम्मेदवार टुंगो लगाउने विषयमा छलफल जारी रहको बताउनुभयो । अहिलेसम्ममा एक ठाउँमा पनि उम्मेदवार टुंगो नलगाएको राजपा नेपालले १८ गते सम्ममा उम्मेदवार टुंगो लगाउने जनाएको छ ।
संघीय समाजवादी फोरम, नेपालले प्रदेश नम्बर २ का सर्लाही र महोत्तरी बाहेक सबै जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका अध्यक्ष उपाध्यक्ष, मेयर र उपमेयरका उममेदवारको नाम टुंगो लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here