प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

जनकपुरधाम, २ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो ।

उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताउनुभयो ।

उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताउनुभयो । उहाँले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरण तर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औँल्याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here