प्रदेशसभा बैठकमा किन भयो लालबाबु पण्डितप्रति आलोचना ?

काठमाडौं, २० चैत – डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने आँट देखाएका कारण अघिल्लो सरकारमा छँदा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निकै चर्चामा रहे । वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएका पण्डितको चर्चा अहिले पनि घटेको छैन, तर कर्मचारीप्रतिको खरो अभिव्यक्तिका कारण केही कर्मचारी चिढिएका छन् ।

प्रदेश १ को संसद् बैठकमा सोमबार पनि पण्डितको आलोचना भयो । कांग्रेसबाट निर्वाचित सांसद विन्दीया कार्कीले सोमबारको प्रदेशसभा वैठकमा पण्डितको खुलेर आलोचना गर्नुभयो । शून्य समयमा बोल्दै कार्कीले मन्त्री पण्डितले कर्मचारीलाई थर्काउने काम गलत भएको बताउनुभयो । ‘सरकारले कर्मचारीलाई काममा खटाउने र काम नगरे कारबाही गर्ने हो,’ उहाँले भन्नुभयो, ‘जथाभावी बोल्दै हिँड्नु राम्रो होइन ।’

उपचारको नाममा मन्त्री र नेताहरु विदेश जाने प्रवृत्तिको पनि कार्कीले विरोध गर्नुभयो । ‘बाढीपीडित र भूकम्पपीडितले राहत नपाएको बेला नेता र मन्त्रीको विदेश मोह निन्दनीय छ,’ उहाँले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्ने गरी सरकारका कदम अघि बढून् ।’ प्रदेश संसद् भवन र जिल्ला समन्वय समिति एउटै भवनमा हुँदा समस्या भएको भन्दै उहाँले यसको विकल्प खोज्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here