बुटवल १७, असोजः मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम हो भन्नुभयो ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ उहाँले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा सङ्घ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने छ ।

