प्रतिपक्ष कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं,२२ असारः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद सचिवालयमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बैठकको सुरुमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम दर्ता भएको प्रस्ताव कार्यसुचीमा नराख्नुको कारण माग गर्नुभयो । उहाँले सो प्रस्ताव कार्यसूचीमा नराखेसम्म बैठक चल्न नदिने अडान लिएपछि कांग्रेसका सबै सांसद उठेर बिरोध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले सोसम्बन्धमा सरकारको ध्यानाकर्षण गराइसकेको र सम्वन्धित मन्त्रीले जवाफ दिन समय लाग्ने भएकाले अवरोध नगर्न आग्रह गरेपनि कांग्रेसले अटेर गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । करिब साढे १ बजे आधा घण्टाका लागि भन्दै स्थगित बैठक साढे २ बजेपछि सुरु भएको थियो ।

दोस्रो बैठकमा पनि कांग्रेसले सो प्रस्ताव कार्यसूचीमा नराखेसम्म बैठकको कारवाही अघि बढ्न नदिने अडान लिएपछि आगामी सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । दोस्रो बैठकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडुले आफुहरुले दर्ता गरेको प्रस्तावलाई बेवास्ता गरिएकाले कार्यसूचीमा नराखेसम्म बैठक चल्न नदिने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here