काठमाडौं,२४ असार । सर्लाही गोलीकाण्डबारे संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्ष काँग्रेसले आज सदनमा अबरोध गरेको छ । प्रतिपक्षको काँग्रेसको विरोधपछि आजको बैठक भोली सम्मका लागि स्थगित भएको थियो ।
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु तथा बालकको मृत्युको विरोधमा शान्तिपूर्ण धर्नामा बसेका सर्लाहीकै सरोजकुमार सिंहको मृत्यु सम्बन्धमा संसदीय छानविनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको पहिलो बैठक अवरूद्ध गरेको थियो ।
गृहमन्त्री रामवदहादुर थापाले पहिलो बैठकमा सरकारको तर्फबाट दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरेको थियो । दोस्रो बैठक सुचारु गर्नका लागि सभामुख कृष्णबहादुर महराले कांग्रेस र नेकपाका सचेतकहरूसँग परामर्श गर्नुभएको थियो ।
दलहरूसँग परामर्श गर्नुपर्ने भन्दै महराले भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय लिने जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक भोली दिउँसो १ बजे बस्ने छ ।

