काठमाडौं,४ फागुन । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अबरुद्ध गरेको छ । बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै बिश्वेवर प्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाउँनुभएको थियो ।
कांग्रेसका प्रमुख सचेतक कुशवाहाले यसको छिनोफानो नभएसम्म बैठक सञ्चालनहुन नदिने अडान लिनुभएको थियो । बैठकमा कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध गरेपछि सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित भएको सुचना सुनाउनुभएको थियो ।
बिपी उद्यानका लागि छुट्याएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश नम्बर का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सहिद स्मृति पार्क शिलान्यास गर्नुभएको थियो । प्रदेश सरकारले भने जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ सहिद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ ।

