काठमाडौं,२१ फागुन– संघीय संसदको पहिलो अधिवेशन आजबाट सुरु हुँदै छ । प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्न लागेको हो ।
आज दिउँसो ४ बजे औपचारिक रुपमा सुरु हुने संसद्को पहिलो बैठकले सभाको बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची राखिएको छ ।
साथै सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता भरतराज गौतमका अनुसार दुवै सदनको पहिलो बैठकको कार्यसूची करिब तय भएको छ । दुबै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत गरेर पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि संसदको बैठक आव्हानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रतिनिधिसभाले फागुन २६ गतेका लागि सभामुख चयनको मिति तय गर्ने छ । प्रधामन्त्री केपी ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ ।
संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको निर्वाचनको भोलिपल्ट यो कार्यसूची राखिएको हो । यस्तै राष्ट्रियसभाले फागुन ३० गते अध्यक्ष चयन गरेपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

