काठमाडौं,२ पुस– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको पनि मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ ।
अन्तिम मत परिणाममा ३१ लाख ७३ हजार ४९४ मत सहित नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ तेस्रो भएको नेपाली कांग्रेस समानुपातिक मतगणनामा दोस्रो दल भएको छ । उसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।
चौथो स्थानमा आएको राजपाले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् । यी पाँच पार्टीबाहेक अन्य कुनै पनि पार्टीले संविधान अनुसार ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेनन् ।
यद्यपी विवेकशील साझा पार्टीले राप्रपा र नयाँ शक्तिभन्दा बढी २ लाख १२ हजार ३ सय ६३ मत पाएको छ। राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएका छन् ।
राप्रपाबाट छुट्टिएको राप्रपा प्रजातान्त्रिकले पनि ८८ हजार ३ सय ७७ मत पाएको छ भने नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतमा अहिले आयोग केन्द्रीय कार्यालयको टिमबाट भेरिफाइ भइरहेको छ । भेरिफाइ सकिएपछि मात्र आयोगले औपचारिक रुपमा अन्तिम मत घोषणा गर्नेछ ।
उता, प्रदेश ५ मा पनि एमाले नै झिनो मतले अग्रता लिएर पहिलो बनेको छ । एमालेले ५ लाख ३३ हजार ६१३ मत ल्याएको छ । नेपाली कांग्रेस ५ लाख ३० हजार ४४ मत ल्याएर दोस्रो बनेको छ भने माओवादी केन्द्रले २ लाख ३९ हजार २१ मत ल्याएको छ । प्रदेश ५ मा संघीय समाजवादी फोरम चौथो भएको छ ।
उसले ७८ हजार ५६७ मत प्राप्त गरेको छ । यो प्रदेशमा प्रत्यक्षतर्फ पनि एमालेकै अग्रता छ । कुल ५२ सिटमध्ये एमालेले २८, कांग्रेसले ७ र माओवादी केन्द्रले १४ सिट प्राप्त गरेका थिए । त्यस्तै संघीय समाजवादी फोरमले ३ स्थानमा जित हासिल गरेको छ ।
यता, प्रदेश २ को समानुपातिकतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । तर, प्रदेशसभामा बहुमत भने राजपा–फोरम गठबन्धनको पुगेको छ ।
जसमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ७० हजार ५५० मत पाएको छ भने राजपाले ३ लाख १८ हजार ५२४ र फोरमले २ लाख ८४ हजार ७२ मत पाएका छन् । एमालेले २ लाख ४९ हजार ७३४ र माओवादी केन्द्रले १ लाख ८२ हजार ६१९ मत पाएका छन् ।

