प्रतिनिधिसभा सञ्चालन नियमावली मंगलबारभित्र

web

काठमाडौँ, २० जेठ- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियमावली मंगलबारभित्र सर्वसम्मत रुपमा पारित गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा सभापति पोखरेलले संसद् सञ्चालन नियमावली आन्तरिक कार्यविधि भएको बताउँदै यसलाई मतदानको प्रक्रियामा नभएर सर्वसहमतिबाटै पारित गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

सर्वसम्मत हुन नसकेमा मात्र लोकतान्त्रिक पद्धति अवलम्वन गरिने बताउँदै सभापति पोखरेलले भन्नुभयो, “नियमावली सर्वसम्मत पारित गराउनेबारे मैले प्रतिनिधिसभाका सभामुखलाई भेटेको छु, भोलि वा पर्सीसम्म सर्वसम्मतिमै नियामावली पारित हुन्छ ।”

नेपाली काँग्रेसका नेता महेन्द्र यादवले संसद् सञ्चालन नियमावली बहुमतमा पारित गर्दा नकारात्मक प्रभाव पर्ने हुँदा सबैको सहमतिमा पारित गर्ने समझदारी भएको जानकारी दिनुभयो ।

सरकारले ल्याएको बजेटबारे मुख्यमन्त्रीले नै असन्तुष्टि पोखेको बताउँदै उहाँले भन्नुभयो, “नेकपाकै मुख्यमन्त्रीहरुले बजेटबारे असन्तुष्टि जनाएका छन्, यसले गर्दा थाहा हुन्छ, बजेटको पक्ष वा विपक्षबारे बुझ्न सजिलो हुन्छ ।”

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फौजदारी मुद्दा लागेका जनप्रतिनिधिलाई निलम्बन गर्नुपर्ने नियमावलीको पक्षमा आफूहरु रहेको उल्लेख गर्दै संसद् सञ्चालन नियमावली सर्वसम्मतिमै पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here