काठमाडौँ, ४ जेठ- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले विकास निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको भन्दै सरकारी निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कतिपय जिल्लामा निर्माण व्यवसायीले काम जिम्मा लिने, केही काम गर्ने र विभिन्न बहाना बनाएर उम्कने गरेको भन्दै उहाँहरुले त्यस्ता निर्माण व्यवसायीलाई कानूनको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
उहाँहरुले तराई मधेशका विभिन्न जिल्लामा लामो समयदेखि नागरिकले नागरिकता नपाएका कारण सरकारबाट पाउनुपर्ने सेवा सुुविधासमेत नपाएको भन्दै गुनासो गर्नुभयो ।
सांसद प्रदीप यादवले नयाँ संविधान जारी भएको दुई वर्ष पूरा भइसक्दासमेत नेपाली नागरिकले नागरिकता नपाउने अवस्था रहनु दुःखद रहेको गुनासो गर्नुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारीले नागरिकता नदिँदा तराई मधेशका बालिक नागरिक समस्यामा परेको, अध्ययन अध्यापनमा समस्या परेको, बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाएको, सवारी चालक अनुमतिपत्रसमेत नपाएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

