प्रणय दिवसको अवसरमा चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर, २ फागुन। पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।

गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्नुभएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गर्नुभएको हो ।

रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उहाँका फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।

प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहनुभएका उहाँले बताउनुभयो ।

बिरुवा रोपेको छ महीनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मङ्सिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उहाँको भनाइ थियो ।

गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४÷१५ पर्छ । हल्याण्डबाट ल्याएको माउबोटलाई उहाँले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गर्नुभएको हो । यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ ।

विदेशमा बत्तीको व्यवस्था गरेर उज्यालो बनाइएको हुन्छ, त्यो प्रविधि जोड्न खर्चिलो छ, एक किसानले मात्रै सम्भव छैन भन्दै उहाँले प्रविधिमा पछाडि परेकै कारण गुलाब खेती क्रमशः घटदै गएको जानकारी दिनुभयो । विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भइरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो थियो ।

चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन् । नारायणगढमा गुलाबलगायतको फूलको व्यापार गर्ने आधा दर्जन पसल छन् । गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ ।

नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ ।

पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गर्नुभएको छ । उहाँले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here