काठमाडाैं, १७ माघ – पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रतको आज विधिवत समापन गरिएको छ । यसपाली चन्द्र ग्रहण परेकाले बिहानै व्रत समापन गर्नुपरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
बिहान ८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक सुरु भएकाले त्यसअघि नै स्वस्थानी व्रत समापन गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज व्रत समापन नगर्ने व्रतालुले भने फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत समापन गर्न सक्ने समितिले जनाएको छ ।
श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुस्ख तथा रोग नाश हुने र चिताएको पुग्ने धार्मिक विश्वास छ । व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ ।
व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

