काठमाडौँ, १३ साउन-विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो ।
विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७४ माघ २९ मा किर्तिपुरस्थित हिमाल स्टिल कम्पनीले कम तौलको स्टिल बेचेर उपभोक्तालाई ठगेको थियो भने कनक ट्रेड सेन्टर टेकु, प्रशान्ति आयल डिस्टिब्युटर्स एकान्तकुना, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स सातदोवाटो, नारायणी पेट्रोल सेन्टर वाफल, युनिक फ्युल सेन्टर वालकुमारीलगायतले पनि मापदण्ड भन्दा घटी सामान बेचेर ठगी गरेका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ मा पेट्रोल पम्प, सिमेन्ट डिपो र छड उद्योगले ठग्ने संख्या अत्याधिक मात्रामा छ । नाफा कमाउने उद्देश्यले उपत्यकालगायत वाग्मती अञ्चलमा ठगी गर्नेको संख्या बढ्दो छ ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १०० भन्दा बढी पेट्रोल पम्प, सिमेन्ट डिपो, स्टिल डिपोलाई ठगी गरेको भन्दै कारबाही गरेको छ ।

