काठमाडौँ, ४ भदौ:फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। राजधानीको बबरमहलस्थित निवासमा आज बिहान झा मृत अवस्थामा फेला पर्नुभएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट धारीलो हतियार प्रहार गरि हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले बताउनुभयो । उहाँले घटनाको अनुसन्धान शुरु भइसकेको र चाँडै निष्कर्षमा पुग्ने बताउनुभयो ।
प्रहरीले घटनाबारे छानबिन गर्न झाकै घरमा काम गर्ने तीन कामदारलाई समेत पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सो घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको हो ।
झाको टाउको र निधारमा चोट छ । झा बस्दै आएको निवासको एउटा झ्यालसमेत काटिएको प्रहरीले जनाएको छ । श्रीमतीसहित बस्दै आएका ८० बर्षीय झा बिहान चिया खान नआएपछि कोठामा हेर्दा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

