दोलखा,८ मंसिर–यसअघि कतिपय स्थानमा बुथ कब्जा हुने गरेको दोलखालाई यसपटक संवेदनशील क्षेत्रमा राखिएको छ । यसअघिका निर्वाचनमा जुँगु, झ्याँकु, सुरी, चंखु, मार्बु, खारे, जफे, झुलेलगायतका स्थानमा बुथ कब्जा हुँदा स्थानीयले मतदान नै गर्न पाउँदैनथे ।
यी स्थानलाई अति संवेदनशील क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जिल्लाका सबै बुथमा सुरक्षा व्यवस्था बलियो बनाएको बताए । उनले कुनै पनि मतदान केन्द्रमा बलजफती र बाधा हुने काम गर्न नदिने बताए ।
थापाले सिंगै जिल्ला संवेदनशीलको सूचीमा परेका कारण सरकारले विशेष जनशक्ति परिचालन गरेको जानकारी दिए । उनका अनुसार यसपटक एसएसपी स्तरका प्रहरी अधिकारी दोलखा बसेर चुनावी कमान्ड सम्हाल्नेछन् । यस्तै, प्रत्येक मतदान केन्द्रमा इन्स्पेक्टरको कमान्डमा सुरक्षा टोली खटाउने तयारी छ । सबै स्थानीय तहमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिसकिएको छ ।
निर्वाचनका वेला पैसा दिएर बाहिरबाट ल्याइने युवा प्रशासनका लागि चुनौती हुने गर्छ । गाउँमा विपक्षीलाई तर्साउन बाहिरबाट झिकाइने युवालाई नियन्त्रण गर्न प्रहरीले विशेष सतर्कता अपनाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि उत्तरी क्षेत्रका बुथ बढी कब्जा हुने गरेको थियो । जिल्लाको प्रदेश सभा क्षेत्र नं. १ उत्तरी भेगमा पर्छ । निर्वाचनमा अपरिचित युवा परिचालन गर्ने र मतपेटिका कब्जा गर्ने गरिएको जफेका एक मतदाताले बताए ।
बुथ कब्जाको प्रयासमा कतिपयको ज्यान पनि जाने गरेको छ । गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा जुँगु र पवटीमा दुईजना सर्वसाधारणले ज्यान गुमाए । निर्वाचन सकिएलगत्तै ज्यान मार्ने अभियोग, कुटपिटलगायतका मुद्दा सबैजसो दलका कार्यकर्ताले व्यहोर्दै आएका छन् ।
जिल्लाका एक नेताका अनुसार बुथ कब्जाको योजना निर्वाचनको केही दिनअघिदेखि नै बनाउन थाल्छन् । मतदाता आउने बाटो र गौँडाहरूमा आफ्ना विपक्षी मतदाता रोक्ने, आक्रमण गर्नेदेखि मतदान केन्द्रभित्रका विपक्षी दलका कार्यकर्ता लखेट्ने गर्छन् । त्यस्तै, मतदान अधिकृतलाई धम्क्याएर मतपत्रमा सही गर्न लगाउने, रुजु गर्ने, नामावलीमा ठिक लगाउने, मतपेटिकामा मत खसाल्ने गर्छन् ।
यसपटक दुवै गठबन्धनले हतियारधारी युवा समूह गाउँमा रहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइसकेका छन् । तर, प्रशासनले रोक्न पहल नगरेको गठबन्धनका नेताहरूको गुनासो छ ।

