पुनः मतदानको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता

बागलुङ,१५ मंसिर– वाम गठबन्धनले बागलुङका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गरेको छ ।
चुनाव सकिएको चार दिनपछि कांग्रेसले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। नेपाली कांग्रेसले वाम गठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वाम गठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश (१) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका हुन्।

थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गरेका छन्। वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकाले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ।

कांग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए।

मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसकातर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामगठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here