काठमाडौं,३१ जेठ । धादिङको नीलकण्ठ नगरपालिका–११ को सिम्लेको आले भन्ने ठाउँमा पास्नीको भोज खाँदा एकै गाउँका ३० जनाभन्दा धेरै बिरामी परेका छन् ।
बुधवार पास्नीको भोज खाएर घर फर्केपछि बेलुकादेखि नै सामान्य ज्वरो आउने, पसिना धेरै आउने, वाक वाक लाग्ने, पेट दुखेर बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो ।
भोजमा मासु खाएका अधिकांश मानिसमा पखाला लाग्ने र बान्ता हुने समस्या भएको बिरामीको भनाइ छ । ज्यामरुङको सिम्लेस्थित आलेमा प्रेम आले मगरको छोराको पास्नीको भोज खाएपछि बिरामी परेकामध्ये १७ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
उनीहरुले खाएको खानेकुरामा विषाक्त वस्तु मिसिएको अथवा पानीका कारण बिरामी परेको हुन सक्ने चिकित्सकको भनाइ छ । बिरामी पर्नेमा बालबालिका पनि छन् ।

