पोखरा, २० साउन: यसै त पोखरा धेरै पानी पर्ने ठाउँ हो । वर्षात्को याम भएका कारण क्षणभरमा पानी पर्नु र घाम लाग्नु यतिखेर यहाँको दैनिकीजस्तै बनेको छ ।
पोखराको यस्तै मौसममा पोखरा आर्ट ग्यालरीमा गरिएको समता चित्रकला प्रदर्शनी २०७५ मा वर्षात् र पोखरा आसपासको वातावरणको जीवन्त चित्रण गरिएका तस्वीर प्रदर्शनमा राखिएको छ ।
वरिष्ठ कलाकार वात्स्यायन, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थसहित पछिल्लो पुस्ताका नवोदित कलाकार गरी ३६ जनाका कलाकृति यतिखेर प्रदर्शनीमा राखिएका छन् । हरिया फाँटका बीचमा टिनले छाइएका घरबस्ती, आकाशमा उडिरहेका पक्षीसहितको स्थानीय वातावरणको जीवन्त चित्रण गरिएको वात्स्यायनको कला, बुद्धिको माछापुच्छ«े हिमालको पृष्ठभूमिमा ढुङ्गाबाट छाइएको बस्तीलगायत दृश्यले प्रदर्शनी हेर्न पुग्ने जो कोहीको मनलाई आकर्षण गर्ने गरेको छ ।
फेवातालमा पौडी खेल्ने माछापुच्छ«े हिमाललाई कलाकार बुद्धि, झवीन्द्र गुरुङ, गोपाल श्रेष्ठलगायतले आफ्ना कलामा प्रस्तुत गर्नुभएको छ भने नवोदित कलाकार विकास गुरुङ, निशा पुनलगायतले प्रकृति र संस्कृतिका विविध पक्षलाई कलामा उतार्नुभएको छ ।
कलाकर्मी देवेन्द्र गुरुङले विन्ध्यवासिनी मन्दिरको प्राचीन स्वरुपलाई आफ्नो कलामा कोर्नुभएको छ भने विकास गुरुङ, हेमकान्ती गुरुङ, युवराज लामिछानेलगायतले धार्मिकस्थलको परिवेशलाई देखाउनुभएको छ ।
फेवातालमा महिलाले डुङ्गा चलाउँदै गरेको जस्तै देखिने सुदिन श्रेष्ठको कला, तालमा यात्रुका पर्खाइमा रहेको डुङ्गासहितको सुदिन गुरुङको कलात्मक प्रस्तुति त्यहाँ पुग्ने दर्शक घोरिएर हेर्न बाध्य बनाएको छ ।

