पानीका ट्यांकर र जारमा शुद्धताको स्टिकर टासिने

काठमाडौं, २६ चैत – उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् ।

यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’ खानेपानी विकास बोर्डले अनुगमन र परीक्षण गरेपछि ट्यांकरमा हरियो, नीलो र पहेँलो स्टिकर टाँसिने मन्त्री शाहीले बताए । ‘ट्यांकरले आपूर्ति गर्ने पानी कति शुद्ध छ भन्ने मापन हुनेछ ।

मापनका लागि काठमाडौं खानेपानी विकास बोर्डलाई निर्देशन भइसकेको छ,’ शाहीले भने, ‘शुद्ध र सीधै पिउनयोग्य पानी छ भने हरियो, उमालेर खानयोग्य भएमा नीलो तथा भाँडा र लुगा धुन मात्रै योग्य पानी मात्र आपूर्ति गर्ने भएमा पहेँलो स्टिकर दिने निर्णय भएको छ । अब सबैले नियम पालना गर्नुपर्नेछ । नियम नमान्नेलाई कारबाही हुन्छ ।’ खाजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here