पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक र रसुवागढी नाका खुल्यो

काठमाडौं,८ असार । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि अहिले सवारी आवागमन सञ्चालन भएको छ । आज बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षायाममा पटक पटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

त्यस्तै, पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ । हिजो बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् ।

बिहान साढे ८ बजेतिर सडक खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुुभयो । सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here