पर्याप्त भौतिक पूर्वाधारको अभावमा पर्यटन उद्योग

काठमाडौँ, १ मंसिर- मुलुकको पर्यटन व्यवसायसँग सम्बद्ध उद्यमी व्यवसायीले मात्र होइन उच्च सरकारी अधिकारीले समेत पर्याप्त भौतिक पूर्वाधारको अभावमा पर्यटन उद्योग अपेक्षानुसार फस्टाउन नसकेको बताएका छन् ।

कतार एयरवेजले नेपालमा सेवा शुरु गरेको २०औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘नेपालको पर्यटन ः सम्भावना र चुनौती’ विषयक कार्यशालाका सहभागिले त्यस्तो बताएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले विश्वकै अद्वितीय पर्यटकीय गन्तव्य मुलुक नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको अभावमा सोचेजस्तो विकास हुन नसकेको स्वीकार गर्नुभयो ।

वैदेशिक मुद्रा आर्जनको प्रमुख माध्यमका रुपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धनका निम्ति निजी क्षेत्रसँग मिलेर काम गर्न आफू सदैव तत्पर रहेको दोहो¥याउँदै उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न आफू कृतसंकल्प रहेको बताउनुभयो ।

मन्त्री देवले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति बाह्य लगानीकर्तालाई आह्वान गर्दै त्यसको प्रतिफल सुनिश्चित गर्न नेपाल सरकारले कानूनी व्यवस्था गरेको स्पष्ट गर्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सडक, यातायातजस्ता भौतिक पूर्वाधार निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । हिन्दू र बुद्ध धर्मको केन्द्रस्थलका रुपमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ थियो ।

“मक्का मदिना, जेरुसेलम र तिरुपति बालाजी धार्मिक पर्यटनले विश्वभर प्रख्यात छन् । लुम्बिनी, जनकपुर र काठमाडौँलाई पनि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । त्यस निम्ति भौतिक पूर्वाधार निर्माण पहिलो शर्त हो” उहाँले भन्नुभयो ।

सरकारले पर्यटन क्षेत्रको विकास लागि हरसम्भव प्रयास गरिरहेको र राजनीतिक संक्रमणलगायत आन्तरिक कारणले सोचेअनुरुप विकास हुन नसकेको उहाँले यथार्थ प्रस्तुत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here