काठमाडौँ, ११ जेठ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुकमा सुशासन, जनताको विकास र समृद्धिका लागि आवश्यक पर्ने कानूनको अभाव हुन नदिने बताउनुभएको छ ।
राष्ट्रिय संगीतकर्मी संघको चौँथो महाधिवेशनको शनिबार भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री तामाङले कानूनी जटिलताले समाजमा हुन लागेका राम्रा काममा ढिला सुस्ती भएको उल्लेख गर्दै देशमा आर्थिक लगानी वृद्धि गरी जनतालाई उत्पादनसँग जोड्ने र परिवर्तनको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रकृतिक रुपमा धनी नेपालमा विभिन्न जाति समुदायको बसोबास रहेको हुँदा विविध संस्कृतिले हामी धनी भएको बताउँदै उहाँले सबै समुदायका गीत÷संगीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभा सदस्य कोमल ओलीले स्रष्टाका रचनाको प्रतिलिपि हुने गरेकामा चिन्ता व्यक्त गर्दै कलाकारमैत्री कानून बनाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ गायक कुमार बस्नेत, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठलगायतले देशभरका कलाकारिता क्षेत्रको विकास र कलाकारकारको सामाजिक सुरक्षाका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

