पदमार्ग छोटिँदै गएपछि वैकल्पिक पदमार्गको खोजी

पोखरा, १७ साउन-अव्यवस्थित सडक विस्तारसँगै पदमार्गहरू छोटिँदै गएपछि सरोकारवाला निकायले यतिखेर वैकल्पिक पदमार्ग खोज्न थालेका छन् ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकामा जथाभावी बाटो खन्ने क्रमले पदयात्रा पर्यटन नै धरासायी बन्ने चिन्ता बढेपछि वैकल्पिक पदमार्गको खोजी थालिएको हो ।

पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी सडक विस्तारले भूक्षय जस्ता प्राकृतिक प्रकोप बढाउनाका साथै पदयात्रा पर्यटनलाई गम्भीर असर पारेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

“नेपालको पदयात्रा पर्यटनमा ठूलो आकर्षण रहे पनि आवश्यकता र औचित्य बिना नै बाटो खन्ने नाममा भएका सडक विस्तारले यो क्षेत्र गम्भीर मारमा परेको छ,” उहाँले भन्नुभयो । पदमार्ग मासिँदै गएको अवस्थालाई दृष्टिगत गरी टान पश्चिमाञ्चल क्षेत्रीय संघले केही वैकल्पिक पदमार्ग पहिचान गरी त्यसको सञ्चालन एवम् प्रवद्र्धन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखराको द्विपदेखि भलाम, हरिहर गुफा, अर्मलाकोट, आँटीघर मौजा, थाक, ताराहिलटप, सिक्लेस, हुँगु गोठ, हुँदै कफुचे लेकसम्मको नयाँ पदमार्गको पहिचान गरिएको छ । “वैकल्पिक पदमार्गको खोजीका क्रममा पहिचान गरिएको यो पदमार्ग लगभग १० दिनसम्म पदयात्रा गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “यसको नक्साङ्कनको काम भइरहेको छ, यो चाँडै नै सञ्चालनमा ल्याउने हाम्रो तयारी हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here