काठमाडौं, २४ बैशाख– ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ आज ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाईंदैछ ।
सरकारले गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेलाई गएको वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयको आयोजनामा बिहान काठमाडौको भृकुटीमण्डपबाट भूगोलपार्कसम्म प्रभातफेरि गरिएको छ ।
अहिले भूगोलपार्कमा रक्तदान भइरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो ।
यसैबीच सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ ।
बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।
त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आजै यो पुरस्कार वितरण गरिदैछ ।

