प्रधानन्यायधिश गोपाल पराजुलीले न्यायलाई प्रभावकारी रुपमा सर्वसाधारणको पहुँचसम्म पुर्याउन न्यायलयहरुलाई एउटै पद्धति र प्रणालीमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उच्च अदालत पोखरा र कास्की जिल्ला बार इकाइद्वारा आयोजित कार्यक्रममा पराजूलीले न्यायलाई सर्वसुलभ बनाउन आफुले ३९ बुँदे कार्यक्रम मार्फत सुधारको प्रयास थालिसकेको बताउनुभयो ।
‘पाण्डवहरु निर्दोष रहेपनि लाक्ष्यगृहमा राखिएको थियो । म पनि करिव–करिव लाक्ष्यगृहबाट आएको हुँ,’ उहाँले भन्नुभयो, ‘अव मसंग युधिश्ठिर बन्नुको बिकल्प छैन । मेरो काममा कानुन व्यवसायीहरुले सहयोग गर्नुपर्यो ।’ न्यायलय र कानुन व्यवसायी एउटा रथका दुई पांग्रा भएकोले व्यक्तिगत स्वार्थमा नलागि विधिको शासन स्थापित गर्ने काममा साथ सहयोग रहनुपर्ने उहाँको धारणा थियो ।
उहाँले स्मार्ट जस्टिस सिस्टमलाई अघि सारिएको भन्दै सूचना प्रविधिमैत्री वातावरण अदालतमा पनि हुनुपर्ने बताउनुभयो । कम्तीमा उच्च अदालतसम्म पेपरलेसको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो ।

