नेविसंघमा चरम विवाद, सुन्दरीजलको कार्यक्रम अझै सुरु हुन सकेन, एकै स्थानमा दुई छुट्टाछुट्टै कार्यक्रम स्थल

काठमाडौं,२६ बैशाख–कांग्रेसको भ्रातृ संगठन नेविसंघमा देउवा पक्ष र पौडेल पक्षबीच विवाद चुलीदा आज सुन्दरीजलमा आयोजना गरिएको कार्यक्रम अन्यौलमा परेको छ । एकै स्थानमा पार्टी सभापति देउवा र पौडेल पक्षको छुट्टाछट्टै कार्यक्रमका लागि स्टेज बनाइएपछि अहिले नेताहरु छलफलमा व्यस्त छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रमको आह्वान गरेका छन् ।

केही दिनअघि समानान्तर बैठक बसेलगत्तै आज सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन् । एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको हो । बिहानैदेखि कार्यक्रम स्थलमा पुगेका नेविसंघका कार्यकर्ता कार्यक्रम सुरुहुने वा स्थगित हुने पर्खाइमा बसेका छन् ।

तर शीर्ष नेताहरुभने दुई पक्षकाको कार्यक्रम स्थगीत गरि एउटै कार्यक्रम सञ्चालन गर्ने पक्षमा रहेको कार्यक्रम स्थलबाट नेविसंघ केन्द्रीय सदस्य खडक विसीले जानकारी दिनुभयो ।

सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया आयोजना गरेका छन् ।

संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व मनोज मणी आर्चायले गरेका छन् । कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थित हुने भनिपनि विवादका कारण अझै कार्यक्रम सुरु हुन सकेको छैन । दुई पक्षका करिब ५ सय विद्यार्थीको उपस्थिती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here