नेविसंघका ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिए

काठमाडाैं,२७ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका  छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै अाज पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको भने हस्ताक्षर गरिएको छैन । महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको एक नेताले जानकारी दिए ।

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here