नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या समाधान भयाे

काठमाडौँ, २० मङ्सिर । नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।

गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो ।

नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिनुभयो । उहाँले नयाँ प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको प्रतिक्रिया दिनुभयो ।

धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद÷बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो ।
नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा दिएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा युवराज खतिवडाले शुभारम्भ गर्नुभएको थियो । पछिल्लो पटक नयाँ प्रणाली शुरु भएपछि कारोवार रकममा वृद्धि भएको छ । शेयर कारोवारको सङ्ख्यासमेत बढेको छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते कूल रु तीन करोडको कारोवार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here