नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै

काठमाडौँ, १८ असोज: नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित  बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।

अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउनुहुन्छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ । नेविसङ्घका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउनुहुन्छ ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताउनुहुन्छ । विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसङ्घको निर्वाचन हुन नसक्दा काङ्ग्रेस कमजोर हुने बताउनुहुन्छ ।

निर्देशन समितिका सदस्य एवं काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसङ्घको विधान र नियमावलीबारे छलफल हुने बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here