नेपाल र माडागास्करबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना

काठमाडाैं, ११ असोजः नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिनुभयो ।

माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो हिन्द महासागरमा अवस्थित द्वीप मुलुक हो । माडागास्कर विश्वकै चौथो ठूलो द्वीप हो । यसको राजधानी अन्तनानरिभो हो र यस मुलुकमा सन् २०१६ मा दुई करोड ४८ लाखभन्दा बढी जनसङ्ख्या भएको अनुमान गरिएको थियो ।

संयुक्त राष्ट सङ्घको मुख्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुँदा परराष्ट्रमन्त्री ज्ञवालीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here