नेपाल र चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडाैं,१२ असाेज । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्।

बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो। बैठक बिहीबारदेखि नै शुरू हुने भनिएता भए पनि एक दिन पर सरेर आजदेखि शुरू भएको हो।

बैठकमा विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।

ऊर्जा संयन्त्रको बैठक शुरू भएको जानकारी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा गर्न सकिने सहकार्यका विविध पक्षबारे छलफल हुने जानकारी दिए।

गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here