प्रधानमन्त्री ओलीले संसदमा भनेः चीन भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा

काठमाडौँ, १२ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उहाँले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उहाँले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गर्नुभयो ।

उहाँले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । चिनियाँ अनुदानमा केरुङ काठमाडौँ रेलमार्ग अगाडि बढ्ने र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

स्थल तथा हवाई सञ्जालको विस्तार गर्न, उत्तर दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गर्दै उहाँले कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४०० केभी प्रसारण लाइन निर्माण, सन् २०१९ को मे सम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडक खण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको सदनलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here