नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किए

धनुषा, ३ जेठ-नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गर्नुभएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो । मन्त्रालयले बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सिधा बस नियमित सञ्चालन हुन नसक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here