नेपाल–भारत उच्च अधिकारीको बैठकमा किन यस्ता विषयमा सहमति गरियो !

पर्सा, १० जेठ- नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो ।

बैठकमा नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमा क्षेत्रलाई व्यवस्थित गर्न छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

सीमाक्षेत्रलाई व्यवस्थित गर्न नेपाल–भारतबीच रहेको बिग्रिएका वा भत्किएका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण दुवै देशका प्राविधिकले उचित ठहर गरेको विधि र प्रक्रियाबाट गर्ने सहमति बैठकमा भएको उहाँले बताउनुभयो ।

बैठकले सीमक्षेत्रमा देखिएका विवादलाई दुईपक्षीय हितका आधारमा स्थानीयस्तरमै छलफलको माध्यमले समाधानको प्रयास गर्ने र हुन नसके दुवै देशका उच्च तहको छलफलबाटै निकास खोज्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

नेपाल–भारतबीच बाराको सिमानामा पर्ने साना, मझौला तथा ठूला गरी ६८५ सीमास्तम्भ छन् भने पर्सामा एक हजार ५८ सीमास्तम्भ छन् ।

नेपाल–भारतका प्राविधिकको सहमतिमा भएको सीमाक्षेत्र व्यवस्थापन तथा मर्मत सम्भार र पुनर्निर्माणको ६० प्रतिशत काम पूरा भएको बैठकमा जनाइएको थियो । बाँकी रहेका ४० प्रतिशत सीमास्तम्भलाई यसै मौसममा पूरा गर्ने तयारी दुवै पक्षका प्राविधिकको रहेको बैठकमा बताइएको छ ।

बैठकमा नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी विजयनाथ मानन्धर, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराकी प्रहरी उपरीक्षक मीरा चौधरी, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुशीलप्रसाद पराजुली, बाराका सशस्त्र प्रहरी उपरीक्षक वेणुप्रसाद पाठक, बारा पर्साका नापी कार्यालय, पर्साका प्रविधिकको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here