नेपाल बंगलादेश ऊर्जा बैठक जारी

काठमाडाैं,१८ मंसिर । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्वन्धी संयन्त्रको बैठकमा आज सचिव स्तरमा छलफल हुँदैछ । राजधानीको एक होटलमा बिहान १० बजे सुरु हुने छलफलमा संयुक्त संयन्त्रको हिजोको बैठकले सिफारिस गरेका बिषयमा थप छलफल सहित निर्णय गर्ने उर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

पहिलो दिन हिजो अन्तरदेशीय प्रशारण लाईन, ऊर्जा व्यापारको मोडालिटी र नेपालमा बंगलादेशको लगानी लगायत विषयमा छलफल भएको थियो । छलफलको निष्कर्षलाई सचिवस्तरीय बैठकले पारित गरे, नेपाल र बंगलादेशबीच उर्जा सहकार्यका बिषयमा महत्वपुर्ण उपलब्धि हासिल हुनेछ ।

सह–सचिवस्तरीय बैठकले गरेका निर्णय उचित लागे आज बस्ने बैठकले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयमा असहमती भए थप छलफलका लागि नयाँ मिति तय गर्ने दुबै पक्षको तयारी छ । बैठकमा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव अनुपकुमार बाँस्कोटा र बंगलादेशको नेतृत्व उर्जा विभागका सचिव अहमद वाईकाउसले गर्नुहुनेछ ।

विद्युतमा आत्मनिर्भर उन्मुख हुँदै गरेको नेपालले आगामी १ वर्षमा निर्यात गर्ने हैसियतमा पुग्ने दावी गरेको छ । त्यसैका लागि नेपालले बगलादेशको बजार खोज्न लागेको हो । चर्को ऊर्जा संकट बेहोरिरहेको बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि चासो राख्दै आएको छ । बंगलादेशले सन २०४० सम्ममा १० हजार मेगावट विद्युत आयात गर्ने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here