नेपाल–चीनबीच सिमानास्थित रसुवागढीमा झण्डोत्तोलन

रसुवा, ५ कात्तिक: नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गर्नुभयो ।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिनुभयो ।

साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा विसं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र विसं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महीना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ ।

नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here