संसदिय शिक्षा समितिको निर्देशनः नेपाल इञ्जिनियरिङ कलेजको अनियमितताबारे छानविन गर्नु

काठमाडौं,२९ पुस । नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे छानविन गर्न निर्देशन दिएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे छानविन गर्न निर्देशन दिएको हो।

सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले आज पूर्ण समितिमा पेश गरेको प्रतिवेदनमा नयाँ सञ्चालक समिति गठन र कलेज सञ्चालन मोडालिटीबारे सुझाव दिन कार्यदल गठन गर्न निर्देशन दिनुपर्ने प्रस्ताव गरेको थियो।

त्यस्तै कलेजमा भएको अनियमितताबारे छानविन गर्न पनि कार्यदल गठनको सिफारिस गरिएको छ। शिक्षा समितिको बैठकले दुवै प्रस्ताव पास गरेको हो।

२०६० साल भदौ ४ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाको रुपमा दर्ता भएको नेपाल इञ्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको छ । कलेजका लागि तत्कालीन चाँगुनारायण गाविसले १७४ रोपनी सार्वजनिक जग्गा उपभोग गर्न दिएको थियो ।

तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले २०७४ वैशाख २५ मा निजी कम्पनीका रुपमा दर्ता गरेपछि विवाद सुरु भएको थियो । विद्यार्थी र स्थानीयले विरोध गरेपछि नेपाल इञ्जिनियरिङ कलेज प्राली खारेज गर्ने सहमति भएपनि हालसम्म समानान्तर सञ्चालक समिति कायम छन् भने २० करोड भ्रष्टाचार भएको आरोप लागेको छ ।

शिक्षा समितिमा भएको छलफलमा न्यौपाने र सांसद सूर्यबहादुर केसीले कलेज निजी भएको दाबी गरेपनि भक्तपुरका सीडीओ, जिसस प्रमुख, चाँगुनारायण नगरपालिकाका मेयर र राजनीतिक दलका प्रतिनिधिले सामाजिक संस्था भएको दाबी गरेका छन् ।

समितिले उपसमितिको प्रस्ताव अनुसार पोखरा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीनको नेतृत्वमा ५ सदस्यीय समिति बनाएर नयाँ सञ्चालक समिति गठन र कलेज सञ्चालनको मोडालिटीबारे १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । कलेजमा भएको भ्रष्टाचारबारे छानविन गर्न चार्टर्ड एकाउन्टेन्टको अध्यक्षमा ५ सदस्यीय कार्यदल गठन गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here