काठमाडौँ, २७ फागुन-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।”
इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गर्नुभयो ।

