काठमाडौं, ८ साउन – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय, सानेपामा जारी बैठकमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन र प्रदेश तथा संघीय संसदको निर्वाचनको छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजोको बैठकमा स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन परिणामको समीक्षा भएको थियो । बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहनेछ । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित रहेको र नेताहरुले बोल्नेक्रम आज पनि जारी रहने मुख्य सचिव पौडेलले बताउनुभयो ।
साथै निर्वाचनको परिणाम र समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरी, आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे आजको बैठकमा छलफल हुने केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।

